१. संस्थाको परिचय
मगर आदिवासी प्राज्ञिक प्रतिष्ठान आदिवासी मगर भाषा–संस्कृति, आदिवासी मगरका विविध पक्षहरुको विश्वविद्यालयमा कम्तिमा पनि स्नातकोत्तर तहमा अध्ययन अध्यापनका लागि विषय स्थापना गरी सञ्चालन गर्नका लागि स्थापित गरिएको संस्था हो । यसैगरी विद्यालय तहमा मगर भाषाहरुमा पठनपाठन गराई मगर भाषा–संस्कृति, इतिहास एवं मगर दर्शनको संरक्षण, प्रवद्र्धन र विकासका लागि पनि काम गर्ने उद्देश्य राखेको छ । यो संस्था मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई सामाज कल्याण परिषदमा सामाजिक संस्थाको रुपमा दर्ता भएको छ । यो संस्था स्थापनाका लागि नेपाल मगर लेखक संघको महत्वपूर्ण भूमिका छ र नेपाल मगर संघ केन्द्रीय समितिको संरक्षकत्व रहेको छ । नेपाल मगर संघ, केन्द्रीय समितिले लिएको तथा समग्र मगर समाजले लिएको विश्वविद्यालयमा, विद्यालयमा मगर भाषा–संस्कृति र मगर विविध पक्षहरुको अध्ययन अध्यपानका उद्देश्य र लक्ष्यलाई प्राविधिक रुपमा कार्यान्वयन गर्ने दिशामा कार्य गरिरहेको छ । वर्तमानमा उद्देश्य परिपूर्तिका लागि विश्वविद्यालय एवं सरकारी निकायहरुसँग घनिभूत रुपमा लबिङ कार्य गर्नुपर्ने अवस्था भएकोले सोही बमोजिमका उर्जाशिल प्राज्ञिक व्यक्तित्वहरु संगठित भई संस्थाको उद्देश्य प्राप्तिका लागि कार्यहरु भैरहेको छ ।
२. संस्था स्थापनाको सन्दर्भ
नेपालको राज्यसत्ताले ऐतिहासिक कालदेखि लामो समय एकल भाषा–संस्कृतिको नीति लिएर कार्य गर्यो । दोस्रो विश्वयुद्धपछि संसारमा भएका उथलपुथलपछि नेपालमा पनि जहानिया निरङ्कुश शासनको अन्त्य भयो । आधुनिक शिक्षाको विकासको शुरुवात भयो । तत्कालिन मगर अग्रजहरुले वि.सं. १९९७ मा दार्जलिङमा, वि.सं. २०१२ मा गुल्मीको भार्से, तनुहँको रुङ्सीमा मगर सम्मेलनहरु गरेका थिए । उनीहरुको लक्ष्य मगर भाषा–संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकास तथा मगर समाजको समृद्धि थियो । पञ्चायतकाल हुँदा वि.सं. २०३९ मा खुलेको लाङ्घाली संघ, वि.सं. २०४६ को परिवर्तनपछिको नेपाल मगर संघको लक्ष्य र उद्देश्यहरु पनि उही नै थियो । नेपालमा भएका उथलपुथलपछि संघिय गणतान्त्रिक लोकतन्त्रको स्थापनासम्म पनि पुर्खाहरुले राखेका विषयवस्तुले स्थान पाउन सकेका थिएनन् । विश्विद्यालयमा मगर आदिवासी भाषा–संस्कृति, एव मगरका विषयहरुको बारेमा विषय स्थापना भइरहेको थिएन । यस्तो परिस्थीतिमा मगर संघको आवद्ध संस्था नेपाल मगर लेखक संघ स्थापनापछि विश्वविद्यालयमा कुराकानी गर्ने, मन्त्रीहरुलाई ज्ञापन पत्र दिने कार्यहरु हुँदै आइरहेको थियो ।
यसरी नेपालको विश्वविद्यालयमा मगर भाषा–संस्कृति, दर्शन, मगर पहिचानका बारेमा पठनपाठन गराउनका लागि विगतदेखि नै स–साना प्रयाशहरू हुँदै आएका थिए । नेपाल मगर संघ, मगर अध्ययन केन्द्र लगायतका संस्थाहरुमा पनि कुराकानी उठाइएको थियो । वि.सं. २०७४/७५ सालतिरदेखि नै त्रि.वि.को डिन कार्यालयमा स्नाकोत्तर पठपाठनका लागि कुराकानी गर्ने क्रम जारी थियो । वि.सं. २०७६ सालमा खुल्ला विश्वविद्यालयमा निवेदन पेश गरिएको थियो । यस पछि निरन्तर फलोअप गर्ने कार्यहरू पनि हुँदै थियो । वि.सं. २०७८ साउन महिनामा नेपाल मगर लेखक संघको तर्फबाट प्रस्ताव पनि पेश गरिएको थियो । मगर लेखक संघको तर्फबाट विष्णुकुमार सिङ्जाली, जिवनप्रवेश रोकामगर, जगबहादुर बुढामगर लगायतको टिमले कार्य गरिरहेको थियो । यसैगरी यस संस्थाका अभियन्ताहरूले नेपाल मगर संघसँग पनि यस अभियानमा सहयोगका लागि कुराकानी गरिरहेका थिए । यहि सन्दर्भमा वि.सं. २०७८ मंसीर ६ गते दाङ घोरहीमा नविन रोकामगरको अध्यक्षतामा बसेको नेपाल मगर संघको केन्द्रीय समितिको बैठकमा यसबारे प्रस्तुतिको लागि बोलाइएको थियो । त्यसमा विश्वविद्यालयमा मगर भाषा–संस्कृति लगायतका विषयमा कसरी पठनपाठन गराउन सकिन्छ भन्ने रणनीतिक अवधारणा अभियन्ता डा. विष्णु कुमार सिङ्जालीमगरद्वारा प्रस्तुत गरिएको थियो । विश्वविद्यालयमा मगरका विषयवस्तु पठपाठनका लागि एउटा मगर संघसंग आबद्ध हुने गरी प्राज्ञिक व्यक्तिहरूको संस्था निर्माण गर्ने बारेमा बहस भएको थियो । नेपाल मगर संघ, केन्द्रीय समितिको बाहारौं महाधिवेशन (२०७८ चैत्र २५,२६ र २७ गते)पछि नेपाल मगर संघ केन्द्रीय समितिको बैठकले यो संस्था स्थापनाका लागि डा. विष्णु कुमार सिङ्जालीलाई जिम्मा दिइएको थियो । वि.सं. २०७९ बैसाख महिनामा विभिन्न चरणमा सघन छलफलहरू भयो । वि.सं. २०७९ जेष्ठ ९ गते ज्ञानेन्द्र पुनमगरको अध्यक्षतामा बसेको नेपाल मगर संघको केन्द्रीय समितिको बैठकले “मगर आदिवासी प्राज्ञिक प्रतिष्ठान” गठन गरी आवद्ध गर्ने, विश्वद्यिालयमा मगर आदिवासी भाषा–संस्कृति पठनपाठनको निमित्त भवन उपलब्ध गराउने जस्ता कुराहरुमा निर्णय ग¥यो । यही क्रममा प्राज्ञिक व्यक्तित्वहरुसँग विभिन्न चरणका छलफलहरू गर्दैजाँदा संस्थाका उद्देश्यहरूसँग सहमत भएका प्राज्ञिक व्यक्तित्वहरूको जमघटबाट संस्था दर्ता प्रक्रिया अगाडि बढाइएकोमा वि.सं. २०७९ जेष्ठ १९ गते मुनाफा रहित कम्पनीको रुपमा दर्ता भयो । वि.सं. २०७९ असार ०२ गते समाज कल्याण परिषदमा सामाजिक संस्थाको रुपमा दर्ता भयो । यसरी मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानको स्थापना भएर सञ्चालनमा आएको छ ।
३. संस्थाको मुख्य लथ्य र उदेश्यहरु
यस संस्थाको मुख्य लक्ष्य र उद्देश्यहरु भनेको विश्वविद्यालयमा कम्तिमा पनि स्नातकोत्तर तहमा “मगर आदिवासी भाषा–संस्कृति अध्ययन” झल्कने विषय स्थापना गरी मगर भाषा–साहित्य, संस्कृति, रीति तथा परमपरा, इतिहास, मगर दर्शन, मगर सौन्दर्यशास्त्र, मगर आदिवासी ज्ञान र सिप, आदिवासी विज्ञान, प्रथाजनित संस्था र कानूनहरु ल्गायतका विषयवस्तु विश्विद्यालयमा अध्ययन अध्यापन गर्ने गराउने; विश्वविद्यालयमा आदिवासी अध्ययन संकाय स्थापनाका लागि पहलकदमी गर्ने; मगर बाहुल्य पालिकाहरुमा मगर भाषामा स्थानीय पाठ्यक्रम पठनपाठन गर्ने; मगरका बारेमा विश्वविद्यालयमा रिसर्च सेन्टर विकास गर्ने; आदिवासीसँग सम्बन्धित विषयमा परामर्शसेवा एवं पैरवीका कार्यहरु गर्ने लगायतका मगरको प्राज्ञिक जगतमा योगदान दिनु रहेको छ ।
४. संस्थाको कार्य क्षेत्रहरु
— विश्वविद्यालयमा “मगर आदिवासी भाषा–संस्कृति अध्ययन” झल्कने विषय स्थापना एवं शैक्षिक कार्यक्रम सञ्चालन
— पालिकामा मगर भाषामा पठपाठनको लागि स्थानीय पाठ्यक्रम तयारी एवं पाठ्यपुस्तक लेखन
— आदिवासी मगरहरुसँग सम्बन्धित विविध विषयहरुको अध्ययन अनुसन्धान
— आदिवासी मगरका प्राज्ञिक कार्यक्रमहरु
— आदिवासी मगरहरुको भाषा–साहित्यको संरक्षण, सम्बर्धन एवं विकास तथा समृद्धिका कार्यहरु
— विकास निर्माणमा आदिवासी जनजातिको सुरक्षणका विषयवस्तुहरु
— आदिवासीसँग सम्बन्धित जलबायु परिवर्तन, जैविक विविधताका विषयवस्तुहरु
— विश्वविद्यालयमा “आदिवासी अध्ययन” संकायको स्थापनाका लागि आवस्यक कार्यहरु
— विविध विषयमा परामर्श एवं पैरवी
५. संस्थाको संरक्षकत्व
नेपाल मगर संघ, केन्द्रीय समितिको परामर्शमा मगर आदिवासी प्राज्ञिक प्रतिष्ठान स्थापना गरिएकाले सो संस्थाबाट अभिभावकको रुपमा भूमिका रहेको छ । विश्वविद्यालयमा मगरका बारेमा विषय स्थापना गर्ने र अध्ययन अध्यापन गर्ने गराउने विषयमा पनि संरक्षकत्वको भूमिका रहेको छ ।

